About

blogspot
ASAFAL ZINDAGI KA PANA HARU blockquote>

My Blog List

Friday, July 27, 2012

दूध चुसाउन महिलाको तस्करी

दूध चुसाउन महिलाको तस्करी

ekantipur.com

दुई महिना अगाडि वीरगन्जमा चेलीबेटी बेचबिखन विरुद्ध भारत र नेपाल सीमा क्षेत्रका सरकारी र गैरसरकारी निकायका पदाधिकारीहरूका लागि आयोजना गरिएको छलफल कार्यक्रममा उठेको एउटा विषय सहभागीहरूका लागि निकै चासोको विषय थियो । चेलीबेटी बेचबिखनको नियन्त्रणका लागी दुईपक्षीय सहयोग र समन्वयको विस्तारका लागि आयोजना गरिएको उक्त छलफलमा यसपटक नेपाली चेलीहरूको ससाना बच्चाहरूलाई दूध चुसाउने धाई आमाको प्रयोजनका लागि आोसारपसार भएको कुरा सहभागीले उठाएका थिए ।
चेलीबेटी बेचबिखनको नयाँ-नयाँ आयामहरू हाम्रो समाजमा बेलाबेलामा नदेखिएको होइन । बालबालिकाहरूलाई सर्कसमा प्रयोग गर्ने प्रयोजनदेखि लिएर, महिलाहरूलाई घरेलु कामदार, बच्चाहरूलाई माग्ने प्रयोजनका लागि लगायत अन्य विभिन्न कामका लागि ओसारपसार भएको कुराहरू प्रकाशमा आउने गरेको देखिन्छ । तर अहिले देखापरेको नयाँ आयामको कुरा निकै अनौठो लाग्यो, जुन कुरा प्रचार-प्रसारमा अझै राम्ररी आएको छैन ।

हाम्रो छिमेकी भारतको विहारमा विगत दुई वर्षयता साना भर्खरै जन्मिएका बालबालिकालाई दूध चुसाउने प्रयोजनका लागि सीमा क्षेत्रबाट भर्खर सुत्केरी भएका नेपाली महिलाहरूको ओसारपसार भइरहेको कुरा भारतको सीमा क्षेत्रका सहभागीहरूले प्रकाशमा ल्याएका थिए । सुशासनले गर्दा अहिले विहारमा पनि महिलाहरूको जीवनशैलीमा आमूल परिवर्तन भएको छ । उनीहरू भन्छन्— घर बाहिर काम गर्न जाने महिलाहरू पनि पहिलेको तुलनामा व्यस्त छन् । उनीहरू बच्चा पाएपछि शरीरको आकार र सुन्दरतामा कुनै कमी नहोस् भन्ने चाहन्छन् । बच्चा जन्मिएपछि आमाको दूध चुसाउनका लागि आफूले गरिरहेको काम छोड्नु पनि नपरोस् भन्ने उनीहरूको चाहना हुन्छ । यसैले पनि बच्चालाई स्याहार गर्ने धाई आमाको लागि पनि विशेष गरेर नेपाली चेलीबेटीहरूको ओसारपसार बढेको देखिन्छ । अचेल दलालहरूले सुत्केरी महिलाहरूलाई आफ्नो निसाना बनाउने गरेका छन् । गरिबीको मारमा परेका महिलाहरूलाई घरेलु कामको लागि भनेर दलालले फकाइ लग्ने गरेको कुरा मधुवनी, विहारका जीपीएसभीएस नामक गैरसरकारी संस्थाका अध्यक्ष रमेश सिंहले बताए ।

कति अवस्थामा महिलाका लोग्नेहरू पनि संगसंगै आउने गरेको कुरा स्थानीय संघ-संस्थाहरू बताउँछन् । उत्तर विहारमा मानव ओसारपसार विरुद्ध काम गर्ने दलित महिला जागरण संस्थाका अध्यक्ष सुमन पासवानका अनुसार नेपाल र झारखण्डका महिलाहरूको अहिले यो प्रयोजनका लागि प्रशस्त माग छ । उक्त संस्थाका अनुसार भर्खरै सुत्केरी भएको महिलाहरूलाई दलालहरूले फकाइ ल्याउने गर्छन्, यदि उनीहरूले यो काम गर्न मानेनन् भने उनीहरूलाई बन्धक बनाएर थुनामा राख्ने, नमानेको अवस्थामा महिलाहरूमाथि दुव्र्यवहार पनि गर्ने गरिएको बताइएको छ । अहिलेसम्म १४० जना महिलालाई सो प्रयोजनका लागि ल्याइएको कुरा जानकारीमा आएको छ । अहिले सीमा क्षेत्रको प्रहरीले पनि यो कुरामा कडा निगरानी गरिरहेको कुरा जानकारीमा आएको छ । विशेष गरेर कामकाजी महिलाले यो प्रयोजनका लागि नेपाली केटीहरूलाई नै बढी मनपराउने गरेका छन् । विहार सरकारले २००८ तयार गरेको कार्ययोजनामा विहारलाई मानव ओसारपसार मुक्त क्षेत्र घोषणा गरेको छ । तर यो कागजमा नै सीमित छ, व्यवहारमा होइन ।

यो समस्याप्रति नेपाल सरकार गम्भीर हुनु जरुरी छ । यौन दासताका लागिमात्र नभएर विभिन्न प्रयोजनका नेपाली मूलका बालबालिका र महिलाको तस्करी बढ्दै गइरहेको छ । भारतसंगको खुला सिमानाले पनि समस्यामा वृद्धि भइरहेको देखिन्छ । नेपालका प्रहरीमात्र होइन, सीमा क्षेत्रका भारतीय प्रहरी पनि यो समस्याप्रति उत्तिकै संवेदनशील हुनु जरुरी छ । गाउँघरमा पनि छलफल कार्यक्रमको आयोजना गरी यो विषयमा सचेतना जगाउनु जरुरी छ । यस्ता कार्यक्रम महिलाहरूलाई मात्र लक्षित नगरी ब्यापक रूपमा सबैलाई यस्ता सूचनाहरू दिनु जरुरी छ । प्रहरी महिला सेललाई पनि अझै बढी सक्रिय बनाउनु जरुरी छ ।

हालै चेलीबेटी बेचबिखन गरेको र उनीहरूलाई देहव्यापारमा संलग्न गराएको अभियोग एकजना अभियुक्तलाई सिन्धुपाल्चोक जिल्ला अदालतले १७ वर्ष कैदको घोषणा पनि गरेको समाचार प्रकाशमा आएको छ । जिल्ला न्यायाधीश अनन्त राजडुवेको एकल इजलासले ३७ वर्षीय प्रेम तामाङ विरुद्ध यस्ता ऐतिहासिक फैसला गरेको हो । यसरी १५ देखि १६ वर्षको ससाना ६ जना बालिकालाई भारतमा बिक्री गरेको अभियोगमा अभियुक्तलाई यस प्रकारको सजाय गरिएको हो । यतिमात्र होइन, फैसलाअनुसार पीडितले पाउनेगरी क्षतिपूर्ति बापत १ लाख ५० हजार रुपियाँ जनही दिने निर्णय पनि सो फैसलामा गरिएको छ ।

हुन त कानुनले चेलीबेटी बेच्ने अभियुक्तलाई २० वर्षको कानुनी सजाय तोके पनि बहुतै कम अभियुक्तले सजाय पाउने गरेको देखिन्छ । त्यस प्रकारका निर्णयहरूले यस्ता अपराध गर्न अभिप्रेरित हुनेहरूलाई हतोत्साह पनि हुनसक्छ । कानुन संगसंगै त्यसको प्रभावकारी कार्यान्वयनमा सचेत नहुने हो भने यो समस्याको निदान हुन सक्दैन ।

0 comments:

Post a Comment